वित्तीय लक्ष्यको महत्व र निर्धारण प्रक्रिया
Author
NEPSE trading

दैनिक जीवनयापन, ठूला खर्च र भैपरी आउने विपत्तिको व्यवस्थापनका लागि पैसाको आवश्यकता पर्छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस्ता आवश्यकताहरूलाई सहजै व्यवस्थापन गर्न वर्तमान र भविष्यको आम्दानी, खर्च र आर्थिक अवस्थालाई विचार गरी निर्धारण गरिएको बचत र लगानीको लक्ष्य नै वित्तीय लक्ष्य हो। वित्तीय लक्ष्यलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ।
नेपाल राष्ट्र बैंकले जनाएअनुसार, अल्पकालीन लक्ष्य एक वर्षभित्र पूरा हुन्छ, जस्तै एक वर्षमा ५,००० रुपैयाँको साइकल किन्ने योजना। मध्यमकालीन लक्ष्य एकदेखि पाँच वर्षभित्र हासिल हुन्छ, जस्तै तीन वर्षमा १० लाखको घडेरी किन्ने लक्ष्य। त्यस्तै, दीर्घकालीन लक्ष्य पाँच वर्षपछि पूरा हुन्छ, जस्तै १० वर्षमा छोरीलाई डाक्टर पढाउन खर्च जुटाउने योजना।
वित्तीय लक्ष्यका फाइदाहरू
नेपाल राष्ट्र बैंकका अनुसार, वित्तीय लक्ष्य निर्धारणले आम्दानी र खर्चको अनुमानित चित्र देखाउँछ, जसले बचतलाई प्राथमिकता दिई फजुल खर्च रोक्न मद्दत गर्छ। यसले आम्दानीका स्रोत बढाउन र कर्मशील हुन प्रेरित गर्छ। योजनाबद्ध ढंगले अघि बढ्दा व्यवसायको वृद्धि र आर्थिक सुधार गर्न सकिन्छ। साथै, यो लक्ष्यले विपद्को सामना गर्न, भविष्यको आर्थिक अनिश्चितता कम गर्न र स्वावलम्बी जीवन जिउन सिकाउँछ।
वित्तीय लक्ष्य कसरी निर्धारण गर्ने?
नेपाल राष्ट्र बैंकले वित्तीय लक्ष्य बनाउँदा निम्न प्रक्रिया अपनाउन सुझाएको छ:
१. भविष्यका आवश्यकता पहिचान गरी प्राथमिकता निर्धारण गर्ने,
२. अनुमानित खर्चअनुसार वार्षिक, मासिक वा आम्दानीबमोजिमको पारिवारिक बजेट बनाउने,
३. लक्ष्य प्राप्तिका लागि बचत योजना तयार गर्ने,
४. योजनामा दृढ रहने,
५. आवश्यक परेमा पुनरावलोकन गर्ने।
नेपाल राष्ट्र बैंकका अधिकारीहरूले वित्तीय लक्ष्यले व्यक्तिलाई आर्थिक रूपमा अनुशासित र आत्मनिर्भर बनाउन सहयोग गर्ने बताएका छन्।
स्रोत: नेपाल राष्ट्र बैंक