·

लगानीको महत्व, जोखिम र उपयुक्त छनोटका आधारहरू

Author

NEPSE trading

लगानीको महत्व, जोखिम र उपयुक्त छनोटका आधारहरू

आम्दानी वा प्रतिफल प्राप्त गर्ने उद्देश्यले वित्तीय स्रोत खर्च गरेर कुनै पनि सम्पत्ति खरिद गरिन्छ भने त्यसलाई लगानी भनिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार, उदाहरणका लागि, किसानले खेतमा प्रयोग गर्न ट्रयाक्टर किन्छ भने त्यो उसको लगानी हो। ट्रयाक्टरको प्रयोगले छोटो समयमा खेत जोत्न सक्ने भएकाले लागत घट्छ र आम्दानी बढ्छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका कामदारले बचतपत्र किन्दा त्यो लगानी बन्छ र निश्चित समयमा प्राप्त ब्याज उसको प्रतिफल हुन्छ। कम्पनीको सेयर किन्दा पनि लाभांशमार्फत प्रतिफल प्राप्त हुन्छ। यसरी, प्रतिफलका लागि गरिएको खर्च नै लगानी हो।

नेपाल राष्ट्र बैंकले लगानी र प्रतिफलको कुरा गर्दा जोखिमको अवधारणा बुझ्नु उत्तिकै महत्वपूर्ण रहेको जनाएको छ। जोखिमले अपेक्षित परिणाममा हुने अनिश्चितता वा विचलनलाई जनाउँछ। कुनै पनि लगानीको प्रतिफल निश्चित नहुने भएकाले जोखिम रहन्छ। लगानीले निष्क्रिय रकमलाई परिचालन गरी प्रतिफल प्राप्त गर्न र मुद्रास्फीतिका कारण घट्ने पैसाको मूल्यको घाटा पूर्ति गर्न सहयोग गर्छ। तर, सोचविचार नगरी, जानकारीबिना वा लहैलहैमा गरिएको लगानीले मूल धन नै डुब्न सक्ने बैंकको चेतावनी छ।

बजारमा बैंकको मुद्दती निक्षेप, ऋणपत्र, बचतपत्र, सेयर, म्युचुअल फण्ड, घरजग्गा, व्यापार, स्वरोजगारसम्बन्धी उद्यमजस्ता लगानीका विकल्पहरू उपलब्ध छन्। नेपाल राष्ट्र बैंकले यीमध्ये आफ्नो वित्तीय लक्ष्य, खर्चको प्राथमिकता, जोखिम बहन गर्ने क्षमता र अपेक्षित प्रतिफलका आधारमा उपयुक्त विकल्प छनोट गर्न सुझाएको छ।

लगानी निर्णयका आधारहरू
नेपाल राष्ट्र बैंकका अनुसार, लगानी गर्दा निम्न विषयमा प्रष्ट हुनुपर्छ:
१. लगानीको उद्देश्य र वित्तीय लक्ष्यको तालमेल,
२. लगानीका लागि आवश्यक रकम, बचत र भावी खर्चबीचको सन्तुलन,
३. लगानीको जोखिम र आफ्नो जोखिम बहन गर्ने क्षमता,
४. अपेक्षित प्रतिफल र त्यसको समय,
५. लगानी फिर्ता हुने अवधि,
६. प्रचलित नियम, कानुन र कर व्यवस्था,
७. लगानी विविधीकरण (सबै रकम एकै ठाउँमा नलगाई जोखिम कम गर्न विभिन्न विकल्पमा लगानी गर्ने),
८. लगानी गर्न लागिएको क्षेत्रको विस्तृत ज्ञान।

नेपाल राष्ट्र बैंकले वित्तीय स्रोतको सही परिचालन र जोखिम व्यवस्थापनसहितको लगानीले आर्थिक वृद्धि र स्थिरता कायम गर्न सकिने बताएको छ।

स्रोत: नेपाल राष्ट्र बैंक

Related News