·
शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेश
Author
NEPSETRADING

शेयर बजारमा पर्यटन क्षेत्रको विस्तार भइरहेको छ । विगतमा होटल समूहमा केवल तीन कम्पनी मात्रै सूचीकृत थिए, तर अहिले केबुलकार र हवाइ क्षेत्रका कम्पनीहरू पनि समावेश भएपछि समूहको दायरा र बजारमा हिस्सेदारी दुवै बढेका छन् । यसअघि उपत्यकामा पाँचतारे सोल्टी होटल, अन्तर्राष्ट्रिय र्याडिसन चेन सञ्चालन गर्ने ओरियन्टल होटल्स लि., र हायात रिजेन्सी व्यवस्थापन गर्ने तारागाउँ रिजेन्सी गरी तीन कम्पनी मात्र शेयर बजारमा उपस्थिति थिए ।पछिल्लो समय आईएमई समूहको लगानीमा चन्द्रागिरी हिल्स लिमिटेड सञ्चालनमा आएको छ, जसले केबुलकारसहित होटल पूर्वाधारमा काम गर्दै आएको छ। यस कम्पनीको लकिङ पिरियड खुलिसकेको छ र यसवर्ष ५ प्रतिशत लाभांश समेत दिएको छ। २०८० सालमा कालिञ्चोक दर्शन लिमिटेड र सिटी होटल लिमिटेड (हायात सेन्ट्रिक ब्रान्ड) पनि शेयर बजारमा आएका थिए, जहाँ दुवै कम्पनीको लकिङ अवधि खुल्दैछ।चालु आर्थिक वर्षमा मात्र बन्दिपुर केबुलकार एन्ड टुरिज्म लिमिटेड र होटल फरेष्ट इन लिमिटेड पनि बजारमा आएका छन्। नेप्सेले पर्यटनसँग सम्बन्धित कम्पनीहरूलाई एउटै समूहमा राखेपछि होटल, केबुलकार र हवाई उड्डयन कम्पनीहरूको कारोबार फराकिलो भएको छ।हाल नेप्सेमा पर्यटन समूहमा ८ कम्पनी सूचीकृत छन् भने १६ वटा कम्पनी आईपीओ पाइपलाइनमा छन्। सेबोनमा हालै श्री एयरलाइन्सले ६३ लाख कित्ता शेयर २ सय रुपैयाँ प्रिमियममा निष्काशनको आवेदन दिएको छ। कैलाश हेलिकोप्टर, प्रभु हेलिकोप्टर र यति एयरलाइन्सले पनि IPO प्रक्रिया अगाडि बढाइरहेका छन्। पाँचतारे होटलहरू जस्तै अकामा, वर्णवास म्युजियम, इच्छाले, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा, माउन्टेन ग्लोरी, मौलाकालिका केवलकार, नगरकोट रिसोर्ट, होटल सबरीना, होलिडे इन एक्सप्रेस, अतिथि रिसोर्ट एन्ड स्पा, होटल पार्क ल्याण्डले पनि शेयर निष्काशनको अनुमति मागेका छन्। यसरी पर्यटन समूहमा लगानीको अवसर बढ्दै गएको छ र शेयर बजारमा यसको व्यापक प्रभाव देखिएको छ।



