·
महासंघको साधारणसभा मिति तय गर्न ५ चैतमा कार्यकारिणी बैठक
Author
NEPSE TRADING

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले केन्द्रीय तथा प्रदेश महासंघको साधारणसभाको मिति तय गर्न ५ चैतमा कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको महासंघका पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार सो बैठकबाट प्रदेश महासंघ र केन्द्रीय महासंघको साधारणसभाको मिति तय गरिनेछ।यसअघि महासंघले २४ माघदेखि २ फागुनसम्म सातवटै प्रदेश महासंघको साधारणसभा सम्पन्न गर्ने योजना बनाएको थियो। तर, त्यस समयमा लागू भएको निर्वाचन आचारसंहिताका कारण निर्वाचन आयोगले अनुमति नदिएपछि प्रदेश सभाहरू स्थगित भएका थिए। त्यसपछि महासंघले नयाँ मिति तय गर्ने तयारी थालेको हो।महासंघको विधानअनुसार केन्द्रीय साधारणसभा चैत २८ र २९ गते आयोजना गर्नुपर्ने व्यवस्था रहेको छ। तर, केन्द्रीय सभा अघि प्रदेश महासंघको साधारणसभा कम्तीमा एक महिनाअघि सम्पन्न हुनुपर्ने र त्यसको सूचना २१ दिनअघि सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यही आधारमा चैत ५ मा बस्ने कार्यकारिणी समितिको बैठकले प्रदेश महासंघको साधारणसभाको नयाँ मिति निर्धारण गर्ने र त्यसपछि एक महिनापछि केन्द्रीय साधारणसभा गर्ने गरी तालिका तय गरिने स्रोतले जनाएको छ।यसपटक महासंघमा केन्द्रीय तथा प्रदेश स्तरका पदाधिकारीहरूको निर्वाचन समेत हुने भएकाले साधारणसभालाई विशेष महत्वका साथ हेरिएको छ। सम्भावित उम्मेदवारहरूले समूह गठन गर्दै निर्वाचनको तयारी सुरु गरिसकेका छन्।महासंघभित्र नेतृत्व चयनसँगै आगामी आर्थिक नीतिहरू, निजी क्षेत्रको भूमिकालगायत विषयमा पनि साधारणसभाले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। त्यसैले महासंघको साधारणसभा आगामी महिनाभित्रै सम्पन्न हुने अनुमान गरिएको छ।




