·
पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति
Author
NEPSE TRADING

सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न अनुमति दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ नेपाल राजपत्रमा प्रकाशित गर्दै उक्त व्यवस्था लागू गरेको हो। सरकारको यो निर्णयलाई स्वदेशी स्रोतको प्रयोग बढाउने तथा पेट्रोलियम पदार्थको आयात घटाउने प्रयासका रूपमा हेरिएको छ।जारी आदेशअनुसार इथानोल उत्पादनका लागि चिनी उद्योगबाट निस्कने खुँदो, नेपियर घाँस, पराल, मकैको खोया, गहुँको छ्वाली तथा अन्य कृषि र वनजन्य अवशेष प्रयोग गर्न सकिनेछ। तर, खाने योग्य खाद्यान्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न भने कडा प्रतिबन्ध लगाइएको छ। यस व्यवस्थाले खाद्यान्न सुरक्षामा असर नपर्ने गरी वैकल्पिक कच्चापदार्थ प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।आदेशअनुसार नेपाल आयल निगमलाई इथानोल खरिद, बिक्री तथा वितरणमा एकाधिकार दिइएको छ। निगमले प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बजारमा आपूर्ति गर्न सक्नेछ। साथै, इथानोलको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ र गुणस्तरहीन इथानोलको खरिद–बिक्री पूर्ण रूपमा निषेध गरिएको छ।मन्त्रालयले इथानोल उत्पादन, भण्डारण, ढुवानी तथा पेट्रोलसँग मिश्रण गर्ने प्रक्रियाका लागि सुरक्षा मापदण्ड तथा प्राविधिक निर्देशिका पनि जारी गर्ने जनाएको छ। आदेशको प्रभावकारी कार्यान्वयनका लागि निगरानी तथा मूल्य निर्धारणसम्बन्धी सिफारिस गर्न उच्चस्तरीय समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ।सरकारका अनुसार यो नीतिको मुख्य उद्देश्य स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उद्योगलाई प्रोत्साहन गर्नु, रोजगारी सिर्जना गर्नु र पेट्रोलियम पदार्थको आयातमा निर्भरता घटाउनु हो। साथै, इथानोल मिश्रण प्रयोगले वातावरणीय प्रदूषण घटाउन तथा वैकल्पिक ऊर्जा स्रोतको उपयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




