लगातार चौथो दिन नेप्से उकालो, परिसूचक २६५४.९३ विन्दुमा; कारोबार रकम घट्यो
Author
NEPSE TRADING

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको बजारले यस दिन पनि सकारात्मक लयलाई कायम राखेको हो। यस दिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.९३ अंकले वृद्धि भएको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले उकालो लागेको छ।
परिसूचक बढेपनि कारोबार रकम भने केही घटेको देखिएको छ। अघिल्लो दिन ४ अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा बिहीबार ३३५ वटा स्टकका ४४ हजार २०४ पटकको कारोबारबाट ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको १ करोड ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयरमूल्य ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले उकालो लागेको छ। घटेका स्टकहरूको मूल्य गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढ्दा ४ उपसमूह घटेका छन्। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले वृद्धि भएको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।



